नियम ४९
चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्क
: (१) कुनै सशस्त्र प्रहरी कर्मचारीले चुनौतीपूर्ण वा विशेष जिम्मेवारी निर्वाह गरे वापत अङ्क दिँदा देहाय बमोजिम बढीमा पाँच अङ्क दिइनेछ –
(क) अति चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत – ५ अङ्क
(ख) मध्यमस्तरको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत – ३.५ अङ्क
(ग) सामान्य वा चुनौतीपूर्ण जिम्मेवारी वापत – २ अङ्क
(२) उपनियम (१) बमोजिम अङ्क दिदा अनुसूची- १२ बमोजिम हुनेछ ।
(३) देहाय बमोजिमको अधिकारीले आफू मातहतको सशस्त्र प्रहरी कर्मचारीले निर्वाह गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारीको सम्बन्धमा उपनियम (२) बमोजिमको आधारमा मूल्याङ्कन गरी सम्बन्धित बढुवा समितिको सचिवालयमा प्रत्येक वर्ष असोज २२ गतेभित्र सिलबन्दी गरी पठाउनु पर्नेछ :–
(क) सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी नायब महानिरीक्षकसम्मका अधिकृतहरुको हकमा सम्बन्धित सशस्त्र प्रहरी कार्यालयको प्रमुखको सिफारिसमा सशस्त्र प्रहरी महानिरीक्षकले ।
(ख) सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक र सो भन्दा तल्लो तहको सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा सम्बन्धित सशस्त्र प्रहरी कार्यालयका प्रमुखको सिफारिसमा सम्बन्धित सशस्त्र प्रहरी नायब महानिरीक्षकले ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र प्रहरी कार्यालयको प्रमुखको रुपमा काम गर्ने सशस्त्र प्रहरी कर्मचारीको हकमा तालुक कार्यालयको प्रमुखको सिफारिसको आधारमा र प्रधान कार्यालयमा काम गर्ने सशस्त्र प्रहरी कर्मचारीको हकमा सम्बन्धित शाखा, महाशाखा वा निर्देशनालयको प्रमुखको सिफारिसको आधारमा सशस्त्र प्रहरी महानिरीक्षकले मूल्याङ्कन गर्नु पर्नेछ ।
(५) चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापतको अङ्क गणना गर्दा बढुवाको लागि उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको चुनौतीपूर्ण वा विशेष जिम्मेवारीको मूल्याङ्कनको औसतबाट गणना गरिनेछ ।
(६) उपनियम (१) बमोजिम अङ्क दिने प्रयोजनको लागि निर्धारण गरिने विषय, मूल्याङ्कन विधि र मापदण्ड प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयबाट स्वीकृत भए बमोजिम हुनेछ ।